रवि थापाको नगदको कारण ज्यान गयो : भ्रष्टाचारको एक संकेत तथा नोट खारेजीको आवश्यकता

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्रीका निजी सचिव रवि थापाको रहस्यमय मृत्युले नेपालका वित्तीय तथा राजनीतिक प्रणालीमा जरा गाडेको भ्रष्टाचारलाई पुनः उजागर गरेको छ । उनको सहकारी बार्गेनिङमा संलग्नता, सार्वजानिक भएको अडियो रेकर्डिङ, र आत्महत्या नोटमा सहकारीसम्बन्धी विषय उल्लेख हुनु आदि घटनाहरूले अवैध आर्थिक कारोबारले कसरी सार्वजनिक विश्वासलाई कमजोर पार्दैछ भन्ने देखाउँछ । यो घटना अलग्गै कुनै एउटा घटनाको प्रतिनिधित्व मात्र होइन ; बरु कागजी मुद्राको अनियन्त्रित प्रवाह जस्तो ठूलो समस्याको संकेत हो जसले भ्रष्टाचार, सम्पत्ती शुद्दिकरण, तस्करी र कर छली जस्ता अपराधहरूलाई मलजल गरिरहेको छ ।

नगद कारोबारसँग सम्बन्धित आपराधिक क्रियाकलापहरूको पर्याप्त प्रमाण भए तापनि नेपालका पुराना र नयाँ दुवै राजनीतिक नेतृत्वहरु यी समस्याको जरो उखेल्न सक्ने नोट खारेजी जस्तो उपाय बारे मौन छन् । राजनीतिक दलहरू र र सरकारी निकायहरूको जानाजानी निष्क्रियताले उनीहरू आफैंले सुधार गर्नुपर्ने प्रणालीबाट लाभ उठाइरहेका छन् भन्ने पुष्टी गर्छ ।

कागजी मुद्राको दुरुपयोग : भ्रष्टाचार र अपराधको प्रमुख साधन

दैनिक कारोबारमा नगदको महत्त्वपूर्ण भूमिका रहन्छ, तर यथार्थ के हो भने यही नगद भ्रष्टाचार र वित्तीय अपराधहरूको प्रमुख आधार पनि हो । तस्करी, कर छली, घूस, र अवैध धन आर्जन सबै नगद कारोबारको अज्ञात स्वरूपकै कारण सम्भव हुन्छ । थापासँग सम्बन्धित सार्वजानिक अडियो, जसले नगद घूस प्रयोग गरेर सहकारीसम्बन्धी मुद्दाहरू सुल्झाउने प्रयासहरूले यो तथ्यको पुष्टि गर्छ । नेपालमा अवैध अर्थतन्त्र झनै फस्टाइरहेको छ, किनकि नगदलाई कुनै ट्रेस नभई सजिलै राख्न, ओसारपसार गर्न र कारोबार गर्न सकिन्छ ।

नेपालका प्रमुख भ्रष्टाचार काण्डहरू—सहकारी घोटालादेखि अवैध राजनीतिक कोष सङ्कलनसम्म—सबै कागजी मुद्रा मार्फत सम्भव भएका छन् । कुनै औपचारिक निगरानीबिना ग।रने तस्करीसमेत यसबाट अछुतो छैन, जहाँ अपराधीहरूले नगदमा आधारित अर्थतन्त्रको फाइदा उठाएर अर्बौं रुपैयाँ विदेश पठाउने गर्छन । यदि नगद कारोबार पूर्ण रूपमा हटाइयो वा निकै सीमित गरियो भने यस्ता अपराधहरू गर्न अफ्ठ्यारो हुनेछ ।

सरकारले कागजी मुद्रा हटाइरहेको छैन, किन?

सबैभन्दा गम्भीर प्रश्न यो छ कि किन सरकारले रु. ५०० र रु. १००० जस्ता ठूलो मूल्य भएका नोटहरू चरणबद्ध रूपमा हटाउने कुनै ठोस कदम उठाएको छैन? यसको उत्तर स्पष्ट छ—राजनीतिज्ञ र कर्मचारीहरू आफैं भ्रष्टाचारमा संलग्न छन् । उनीहरू आफ्नै अवैध कमाइ संकलन गर्न र लुकाउन प्रयोग हुने प्रमुख साधन गुमाउन चाहँदैनन् ।

सुमेरु बचत तथा ऋण सहकारी संस्थालाई समस्या भएको सहकारीको रूपमा घोषणा गरिएको घटना यसको उदाहरण हो । सरकारी निकायहरूको मौन सहमतिले यस्ता घोटालाहरूलाई प्रश्रय दिएको स्पष्ट छ । यदि नोट खारेजी गरियो भने घूस, कमिसन र ‘हुन्डी’ मार्फत अवैध रकम तस्करी गर्न निकै कठिन हुनेछ ।

चाखलाग्दो कुरा के छ भने, नयाँ राजनीतिक लहर का रूपमा चिनिने वैकल्पिक पार्टीहरू र स्वतन्त्र जनप्रतिनिधिहरू पनि यस विषयमा मौन छन् । यदि उनीहरू साँच्चै भ्रष्टाचारविरोधी हुन भने, उनीहरूले विमुद्रीकरणको पक्षमा आवाज उठाउनु पर्ने थियो । तर नगदविहीन कारोबारलाई अनिवार्य बनाउने कुनै पहल नगरिनु आदिले उनीहरू पनि हालको भ्रष्ट प्रणालीबाट फाइदा उठाइरहेका छन् भन्ने संकेत हो । संसदका समिति तथा अन्त कतै नीतिगत बहसहरूमा यी नयाँ नेताहरूको मौनताले उनीहरूको निष्क्रियता झल्काई रहेको छ । जसले ‘परिवर्तन’ को नारा दिएर भोट मागे, उनीहरू नै अहिले भ्रष्टाचारको चक्रमा समाहित भइसकेको अनुभुती सबै जनताले गरिरहेका छन् ।

नगदविहीन अर्थतन्त्रतर्फको बाटो : कागजी नोटहरू अनोपयुक्त बनाउनका लागि कदमहरू

नगदररहित अर्थतन्त्रतर्फको रुपान्तरण व्यवस्थित र सहज बनाउन एउटा योजना आवश्यक छ, जसले व्यवसायलाई अवरोध नगर्नुका साथै जनतामाथि बोझ पनि नपारोस् । सबै दर्ता भएका खुद्रा पसलहरूले एक महिनाभित्र बैंकहरूद्वारा निःशुल्क POS टर्मिनलहरू स्थापना गर्नुपर्छ । त्यसपछि दोस्रो महिनादेखि रु. १ लाखसम्मको भुक्तानी डेबिट कार्डमार्फत गर्नुपर्ने, र सो भन्दा माथिको भुक्तानी चेक वा बैंक स्थानान्तरणमार्फत मात्र गर्नुपर्ने व्यवस्था गर्नु पर्छ । साथै, तलब र भाडा भुक्तानी पनि पूर्ण रूपमा डेबिट कार्ड आदि मार्फत गर्नुपर्नेछ ।

तीन महिनापछि रु. ५०० र रु. १,००० दरका नोटहरू बजारबाट फिर्ता लिइनेछन्, जसका लागि एक महिनाको संक्रमण अवधि प्रदान गर्नु पर्छ । कठिन परिस्थितिमा स्थानीय सरकारहरूलाई तीन महिनासम्मको समयावधि थप गर्न अनुमति दिन सकिन्छ । डिजिटल कारोबारको फाइदाबारे नागरिकहरूलाई जानकारी गराउन तथा डेबिट कार्डको प्रयोग प्रवद्र्धन गर्न राष्ट्रव्यापी जागरण अभियानहरू सञ्चालन गर्नु पर्छ ।

डिजिटल कारोबार बढेसँगै कर अनुपालन सुधार हुनेछ, जसले गर्दा साना व्यवसायहरूको करयोग्य आय वृद्धि हुनेछ । तर, करको अतिरिक्त भार नपरोस भन्ने उद्देश्यले वार्षिक कर वृद्धिलाई पछिल्ला दुई वर्षको औसतभन्दा बढीमा २० प्रतिशतसम्म सीमित गर्नु पर्छ । राजस्वको ऐतिहासिक प्रवृत्तिलाई ध्यानमा राख्दै कर दरलाई न्यायोचित बनाउन अर्थ मन्त्रालयले यो समायोजन सात दिनभित्र लागू गर्नु पर्छ ।

उचित कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारीहरूले स्थानीय सरकार, उद्योग संघ, वित्तीय संस्थाहरू, र कानून कार्यान्वयन निकायहरूसँग सहकार्य गर्नु पर्छ । उनीहरूले पालना सुनिश्चित गर्ने, समस्या सम्बोधन गर्ने, र उद्योग तथा वाणिज्य मन्त्रालयलाई प्रगति प्रतिवेदन पेश गर्ने व्यवस्था गर्नु पर्छ । कुनै समस्या उत्पन्न भएमा, नगरपालिकाहरूलाई उपयुक्त समाधानका साथ समयावधि थप गर्ने सुविधा दिन सकिने व्यवस्था गर्नु पर्छ ।

केन्द्रीय तहमा, उपप्रधानमन्त्रीको नेतृत्वमा गृह, अर्थ, तथा उद्योग तथा वाणिज्य मन्त्रालयका प्रतिनिधिहरू सम्मिलित निगरानी समिति गठन गर्न सकिन्छ, जसले योजनाको कार्यान्वयन अनुगमन गर्नेछ र उत्पन्न समस्याहरू समाधान गर्नेछ । यसरी, नगदरहित अर्थतन्त्रतर्फको यो सम्पूर्ण दृष्टिकोण आर्थिक स्थिरता वा जनताको विश्वासलाई प्रभावित नगरी सहज रुपान्तरण सुनिश्चित गर्नेछ ।

नेपालको राजनीतिक परिदृश्यको भविष्य

नेपाल अहिले एउटा निर्णायक मोडमा छ । यदि हालको राजनीतिक व्यवस्थाले नोट खारेजीको विषयमा आलटाल मात्रै गरिरह्यो भने, निकट भविष्यमा इमानदार र पारदर्शिता वकालत गर्ने नयाँ पुस्ताका नेताहरूको उदय हुनेछ । भ्रष्टाचारविरोधी अभियानकर्ता र वैकल्पिक राजनीतिक शक्तिहरूले नगदविहीन अर्थतन्त्रको पक्षमा खुला अभियान सञ्चालन गर्नुपर्छ । जनचेतना अभिवृद्धि, नीति सिफारिस, र सार्वजनिक दबाबको माध्यमबाट सरकारले निर्णायक कदम चाल्न बाध्य पार्नु पर्छ ।

नोट खारेजी केवल एउटा नीति मात्र होइन; यो नेपालको अस्तित्वका लागि अत्यावश्यक छ । भ्रष्टाचार, कर छली, र वित्तीय अपराधको जालो तोड्न यो एक मात्र प्रभावकारी उपाय हो । यदि हालका राजनीतिज्ञहरूले यस दिशामा कुनै कदम चालेनन् भने, उनीहरूलाई इमानदार र आर्थिक सुधारलाई प्राथमिकता दिने नयाँ नेतृत्वले प्रतिस्थापन गर्नेछ ।

अब बहानाबाजी गर्ने समय सकियो । नेपालले डिजिटल अर्थतन्त्रलाई आत्मसात गर्नैपर्छ र भ्रष्टाचारमुक्त तथा समृद्ध भविष्य निर्माण गर्न कागजी मुद्रालाई हटाउनु अनिवार्य छ ।

लेखक : सिए एक बहादुर क्षेत्री

Related blog posts